सिमलताल दुर्घटनाः नारायणी नदीको टापुमा शव फेला
चितवन, २९ असार/ चितवनको सिमलताल बस दुर्घटनामा बेपत्ता भएकामध्ये २ जना पुरुषको शव फेला परेको छ । गैंडाकोट नगरपालिका–७ गैरीस्थित नारायणी नदीको टापुमा २ जनाको शव फेला परेको हो ।
इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक हस्तबहादुर सुनारले अन्दाजी २५/३० वर्ष उमेर समूहका २ युवाको शव भेटिएको जानकारी दिए । नदीमा माछा मार्नेक्रममा बोटेहरूरुले शव देखेपछि प्रहरीलाई दिउसो खबर गरेका थिए ।
आज बिहानमात्रै भरतपुर महानगरपालिका–२८ गोलाघाटमा बेपत्ता बसका एक यात्रुको शव भेटिएको थियो । भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा पहिरो खस्दा दुई वटा यात्रुवाहक बस त्रिशूलीमा खसेको थियो ।
नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालबाट बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र गणपति डिलक्स नदीमा खसेका थिए । शुक्रबारदेखि बेपत्ता बस र यात्रीको खोजी कार्य तीव्र पारिएको छ ।
एन्जल वीरगञ्जबाट काठमाडौँतर्फ र गणपति काठमाडौँबाट रौतहटको गौरतर्फ जाँदै गरेको अवस्थामा पहिरोमा परेका थिए । दुवै बसमा गरी करिब ६१ यात्री थिए ।