गण्डकीका सांसद विन्दुकुमार थापाले गरे राजु गिरी निर्देशित “इश्वर” को शुटिङ्ग शुभारम्भ

-


     क्लिक गण्डकी     
     माघ २२ गते २०८० मा प्रकाशित


गण्डकीका सांसद विन्दुकुमार थापाले गरे राजु गिरी निर्देशित “इश्वर” को शुटिङ्ग शुभारम्भ

गण्डकीका सांसद विन्दुकुमार थापाले गरे राजु गिरी निर्देशित “इश्वर” को शुटिङ्ग शुभारम्भ

पोखरा, २२ माघ/ गण्डकी प्रदेशका सांसद विन्दुकुमार थापाले चलचित्र निर्देशक राजु गिरीको नयाँ सिनेमा “इश्वर” को शुटिङ्ग शुभारम्भ गरेका छन् । सोमबार साँझ विन्ध्यवासिनमी मन्दिरमा इश्वरको छायाँकन शुभारम्भ गर्दै पूर्वमन्त्री समेत रहेका थापाले सिनेमा मार्फत पोखराको प्रचारप्रसारमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

‘पोखरा सुन्दर नगरी हो । यहाँ अक्सर थुप्रै सिनेमाहरु छायाँकन भइरहेका हुन्छन् । पोखराको प्रचारप्रसारमा सिनेमा क्षेत्र मार्फत महत्वपूर्ण योगदान मिलेको छ ।’, उनले भने । सिनेमा सम्बन्धि गतिविधि बढाउन प्रदेश सरकारलाई घच्घच्याउन सिनेकर्मीको साथमा आफु पनि रहेको उनले बताए । सिनेमा इश्वरले समसामयिक विषयहरुलाई उठान गरि दृश्य मार्फत सकरात्मक सन्देश प्रवाह गर्नेमा आफु विश्वस्त रहेको भनाई उनको छ ।

आफु मन्त्री हुँदा प्रदेशमा चलचित्र विकास बोर्ड गठन गर्ने प्रक्रियाको सुरुवात भई नीति तथा कार्यक्रममा समेत समेटिएको र पछि राजनीतिक उताडचढावका कारण अगाडि बढ्न नसकेको उनले उल्लेख गरे । चलचित्रकर्मीहरुले पहल गरे प्रदेशमा विकास बोर्ड गठन पनि हुने उनले बताए । जसका लागि आफु सदैव साथमा रहेको भनाई उनको छ ।

कलाकार सुनील थापाले विन्ध्यवासिनी मन्दिरमा आफुले चिनो सिनेमाको छायाँकन पछि पाइला टेकेको सम्झना गरे । इश्वरको स्किृप्ट मन परेकाले आफु अनुबन्धित भएको भनाई उनको छ । माओत्से गुरुङले पोखरामा पछिल्लो समय एक पछि अर्को सिनेमा छायाँकन भइरहेको र यो पोखराका लागि राम्रो कुरा भएको बताए । काठमाडौंबाट मात्रै सिनेमा निर्माण हुन्छ भन्ने धारणालाई चिर्दै इश्वर माथि उठ्नेमा उनी विश्वस्त छन् । माओत्से गुरुङद्वारा निर्देशित सिनेमा “दयारानी” माघ २६ बाट अल नेपाल रिलिज हुँदैछ ।

इश्वर सिनेमाका नायक ध्रुव बहादुर थापाले सिनेमामा आउने सानै देखिको रहर बल्ल पुरा भएको उल्लेख गरे । आफ्नो अभिनयलाई लिएर उनी आशावादी देखिन्छन् । समाजको वेथिति, विसंगति, मायाप्रेम र जीवन संघर्षका कथा सिनेमामा रहेको उनले जानकारी गराए । नायिका कृष्टी गुरुङले सिनेमाबाट आफुले राम्रो तारिफ पाउने बताइन् । गुरुङ सिनेमामा अभिनय गरेकी उनी पहिलो पटक नेपाली सिनेमाको नायिकाको रुपमा देखिदैछिन् ।

निर्देशक राजु गिरीले इश्वरको कथा आफ्नोपनको कथा भएको उल्लेख गरे । कमेडी, लबस्टोरी र एक्शनमा सिनेमा बन्ने उनले जानकारी गराए । सिनेमाको सम्पूर्ण छायाँकन पोखरा र कास्की मादी गाउँपालिकाको याङ्गजाकोटमा हुनेछ । लक्ष्मी कुँवर थापाको प्रस्तुतिमा निर्माण हुने सिनेमाको मुख्य भुमिकामा कलाकार माओत्से गुरुङ, पृथ्वीराज प्रसाई, सुनिल थापा, शिशिर वाङ्देल, बुद्धि तामाङ, रविन्द्र झा, सविन बास्तोला र गिता अधिकारीको पनि अभिनय रहनेछ ।

दिव्या कंगना फिल्मस्को ब्यानरमा निर्माण हुने सिनेमाको पटकथा एवम् संवाद भोजराज देवकोटाले तयार पारेका हुन् । हरिबहादुर थापा र शंकर गिरी निर्माता रहने सिनेमा राजेन्द्र बजगाई र बीपी वाग्लेको संगीत, कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डेको कोरियोग्राफी, रामेश्वर हुँमागाईको छायांकन र देव महर्जनको द्वन्द्व निर्देशन रहनेछ ।