पर्यटन प्रर्वद्धन गर्न सातै प्रदेशमा कन्दराको लाइभ कन्सर्ट, पोखरामा शुक्रबार

-


     क्लिक गण्डकी     
     पौष २६ गते २०८० मा प्रकाशित


पर्यटन प्रर्वद्धन गर्न सातै प्रदेशमा कन्दराको लाइभ कन्सर्ट, पोखरामा शुक्रबार

पर्यटन प्रर्वद्धन गर्न सातै प्रदेशमा कन्दराको लाइभ कन्सर्ट, पोखरामा शुक्रबार

पोखरा, २६ पुस/ पोखरामा शुक्रबार ‘पहिला घरदेश अनि परदेश’ भन्ने नारा सहित कन्दरा व्याण्डको लाइभ कन्सर्टको तयारी अन्तिम चरणमा पुगेको छ ।

पोखरा पर्यटन परिषद्को सहकार्यमा पोखराबाट सुरु गरि ७ प्रदेशमा पु¥याउने लक्ष्य रहेको आयोजकको भनाई छ । पुस २७ गते हुने कन्सर्टमा कम्तीमा १० हजार दर्शक पोखरा प्रर्दशनी केन्द्र नयाँबजारमा उपस्थित हुने आयोजकको अनुमान छ ।

कन्सर्टको साथमा पर्यटनको प्रर्वद्धनको लागि विभिन्न जानकारी समेत दर्शकलाई गराउने पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए । झण्डै २० वर्ष पछि हुन लागेको कन्दरा व्याण्डको सोलो लाईभ कन्सर्टलाई भव्य बनाउन लागि परेको उनले बताए ।

कार्यक्रमले पोखरा तथा आसपासमा आन्तरिक पर्यटकको आगमन बढाउने मात्र नभइ देशका सातै प्रदेशको पर्यटनलाई चलायमान बनाउन सघाउने उनको विश्वास छ । अन्य प्रदेशको मिति भने पछि तय गर्ने उनले बताए ।

दुई घण्टाको समयको लाईभ कन्सर्टमा कन्दराका नयाँ पुराना गरेर झण्डै डेढ दर्जन गीत सुन्न कन्दरा व्याण्डका गायक विवेक श्रेष्ठले बताए ।

साँझ ५ बजे बाट शो सुरु हुनेछ । कन्सर्टमा कन्दराका पुराना चर्चित गीतहरु तिमी पारी, विदेशीएर गइन उनी, तगारोमा रुमाल राखी, चञ्चले कान्छी, लेककी हे माया, हङकङ पोखरा लगायतका गीत नयाँ प्रस्तुतीमा सुन्न पाइने उनले बताए ।

आदि गु्रपले व्यवस्थापन गरिरहेका कन्दरा व्याण्डमा मुख्य भोकलिष्ट श्रेष्ठसँगै सुनिल थापा, हरि महर्जन, देव लामा, पङ्कज झा, सुन्दर महर्जन व्याण्ड मेम्बर रहेका छन् । व्याण्डको स्थापना ३० वर्ष अगाडि पोखरामा भएको हो ।

कन्सर्ट हेर्न दर्शकले ३ सय र १ हजार रुपैयाँको टिकट काट्नुपर्नेछ । अहिलेसम्म ६ वटा एलबम दर्शक श्रोतामाझ पस्किएको कन्दराले ५० को दशकमा थुप्रै कन्सर्ट पोखरा सहित नेपालका विभिन्न ठाउँ र विदेशमा समेत गरेको थियो ।



Tags: