
शव
म्याग्दी, २१ पुस/ म्याग्दीको मालिका गाउँपालिका–७ बिममा शनिबार दिउँसो भएको घटनामा दुई जनाको मृत्यु भएको छ ।
धारिलो ढुङ्गा (छपनी) प्रहार हुँदा गम्भीर घाइते भएकी मालिका–७ बिमकी सात वर्षीया प्रियङ्का गर्बुजाको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको म्याग्दीका प्रहरी नायब उपरीक्षक मदन कुँवरले बताए ।
प्रियङ्काकी हजुरआमा ७० वर्षीया मनिषा गर्बुजाको मालिका–७ को लुरवाङस्थित घटनास्थलमै ज्यान गएको थियो । हेलिकोप्टरबाट पोखरा लगिएकी प्रियङ्कालाई चिकित्सकले मृत घोषणा गरेका छन् ।
चिर्पट प्रहार हुँदा घाइते भएकी ६६ वर्षीया अमृता जुग्जालीको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । चिकित्सकले जुग्जाली खतरामुक्त भएको बताए कुँवरले जानकारी दिए ।
हजुरआमालाई दरवाङ–मराङ सडकमा रगताम्मे देखेपछि बचाउन गएकी प्रियङ्काको टाउकोमा छपनी प्रहार भएको थियो । प्रियङ्काका भाइ प्रिन्स भने घरको खाटमुनि लुकेर ज्यान बचाएका थिए । मनिषाका छोरा र बुहारी खेतमा काम गर्न गएका समयमा घटना भएको थियो ।
लुरवाङको माथि जङ्गलमा घाँस काट्दै गरेका अमृता र अर्का एक जना महिलामाथि पनि चिर्पट प्रहार भएको थियो । प्रतिकार गर्ने क्रममा अमृता घाइते भएकी थिइन् । बिम तल्लो गाउँ नजिकै एक ट्याक्सी पनि तोडफोड भएको स्थानीयले बताएका छन् ।
हत्या र आक्रमणमा संलग्न भएको आरोपमा मालिका–७ बिमवाङबाट स्थानीयले एक जना मानसिक सन्तुलन ठिक नभएका व्यक्तिलाई नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका थिए । प्रहरीले घटनाको बारेमा विस्तृत विवरण आइतबार सार्वजनीक गर्ने बताएको छ ।