मदरल्याण्डमा शिक्षक–अभिभावक अन्तरक्रिया कार्यक्रम
पोखरा, ४ असोज/ पोखराको मदरल्याण्ड माध्यमिक विद्यालयमा कक्षा एघार र बाह्रमा अध्ययनरत विद्यार्थीका अभिभावकहरू बिच अन्तरक्रिया गरेको छ । कक्षा एघार र बाह्रमा अध्यापन गर्नुहुने शिक्षक र अभिभावकबिच बिहान र दिउँसो गरी दुई दिनसम्म छुट्टाछुट्टै चरणमा सम्पन्न भएको थियो ।
कार्यक्रममा विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष एवम् शैक्षिक प्रशासक प्रेमनारायण पोख्रेलले सहजीकरण गरेका थिए । विद्यालय, शिक्षक र अभिभावकको साझा उद्देश्य विद्यार्थी तथा बाबुनानीहरू असल र राम्रो बनुन भन्ने रहेको छ भन्दै सहजकर्ता पोख्र्रलले जीवन उपयोगी सिपका लागि पढाइबाहेक घरका कामहरू, समाचार सुन्ने र पढ्ने, भाषाको अध्ययन गर्ने, संस्कार सिक्ने, समयको महत्व बुझ्ने र समयमा काम गर्ने कुरामा बाबुनानीहरूलाई लगाउनुपर्ने बताए ।
उनले निरन्तर व्यायामका साथै परिवारका सबै सदस्यहरू एकै ठाउँमा जम्मा भएर दैनिक केही समय कुराकानी गर्ने बानी बसाल्नाले अहिलेका विद्यार्थी तथा बाबुनानीहरूमा अभिभावकसँग अफ्ना कुरा खोल्ने स्वभावको विकास हुने कुरा बताए ।
अहिलेका विद्यार्थी एवम् बाबुनानीहरूमा मोबाइल, विद्युतीय सामाजिक सञ्जाल र अनलाइन गेमसम्बन्धी समस्याहरू धेरै भएकाले विद्यालय प्रशासन, शिक्षक र अभिभावकहरू पनि चनाखो बन्नुपर्ने बताए । अभिभावकहरूमध्ये लक्ष्मी न्यौपाने, कृष्ण केसी, ओमबहादुर कार्की, शिवराज आचार्यलगायतले बेलाबेलामा विद्यार्थीहरूलाई अभिभावक, शिक्षक र विद्यालयले अभिप्रेरित परामर्श गर्नुपर्ने विषयमा जोड दिए ।
अभिभावकका जिज्ञासा मेट्दै विद्यालयका निर्देशक त्रिभुवन शर्मा र प्राचार्य नारायण बरालले विद्यार्थीहरूमा अद्भुत प्रतिभा रहेकाले उनीहरूको प्रतिभा पहिचान गरी प्रस्फुटनमा सहयोग गर्ने कार्यमा विद्यालयले जोड दिएको बताए । शिक्षा सहकार्यमा आधारित हुनुपर्ने, शिक्षक, विद्यार्थी र अभिभावकबिचको घनिष्ट सम्बन्धबाट मात्र शैक्षिक उद्देश्य पूरा गर्न सकिने धारणा राख्नुुभयो। यसका साथै अबको जनशक्तिको प्रतिस्पर्धा केबल राष्ट्रभित्र मात्र नभई अन्तर्राष्ट्रिय जगत्मा पनि हुने भएकाले विद्यार्थीहरू सैद्धान्तिक पढाइका साथ जीवनोपयोगी सिपमा पनि अगाडि बढ्नुपर्ने बताए ।
यस शैक्षिक सत्रमा भएका गतिविधिहरू अभिभावकसमक्ष प्रस्तुत गर्दै कार्यक्रम सभापति दस जोड दुई इन्चार्ज नारायण आचार्यले कार्यक्रम समापन गर्दै धन्यवाद मन्तव्यमा उच्च शिक्षाका लागि बलियो आधार तयार गर्ने कक्षा एघार र बाह्रको बोर्ड परीक्षामा राष्ट्रिय परीक्षा बोर्डले पनि अलि कसिलो बानाएकाले विद्यार्थीहरूको उत्तम नतिजाका लागि सबै लाग्नुपर्ने कुरा व्यक्त गर्नुभयो भने कार्यक्रम दस जोड दुईका विज्ञान र व्यवस्थापन समूहका संयोजकद्वय लोकबहादुर गुरुङ र इन्द्रप्रसाद पौडेलले सञ्चालन गरेका थिए ।